Wednesday, April 19, 2023

स्वदेशको पारिवारिक भ्रमण जुलाई २०२२


 न्युयोर्कलाई कर्मभुमी बनाएर बस्दै आएको झन्डै पाँच दशक पार भयो। जीवनको अधिकांस हिस्सा प्रवासमा

बिते पनि बेला बखत जन्मभुमी नियमित रुपमा आउने जाने क्रम चलिरहेकै छ। सन २०१९ को अन्तिम तिर

कोविड महामारी फैलिनु केही महिना अघी श्रीमती राधिकाको साथ नेपाल र अष्ट्रेलिया पुगेको थिएँ।

त्यसको झन्डै १ बर्ष अघी माइली छोरीको विवाहमा नेपाल पुगेको थिएँ। सन २०२० को मार्च बाट कोविड

महामारीले विश्वब्यापी रुप लिए पछी करिब २ बर्ष कतैको यात्रा गर्न सकिएको थिएन। कोविड कालमा सबै

जसो देशहरुले बिदेशबाट आउने आगन्तुकहरुलाई कडा निती अबलम्बन गरेकोले पनि यात्रा सहज थिएन।

कोविडको खोप बने पछी महामारी मत्थर हुँदै गयो। त्यस पछी भने निश्चित स्वास्थ्य मापदण्ड लागु गरेर यात्रा

गर्न सकिने अवस्था आएको थियो।

यो पटक श्रीमती ज्यु, कान्छी छोरी जिना सहित नेपाल जाने यात्रा तय भयो। जस अनुसार जुलाई १६

तारिखको दिन कोरियन एअरबाट न्युयोर्कको जोन एफ केनेडी अन्तरराष्ट्रिय बिमानस्थलबाट उड्यौँ। दक्षिण

कोरियाको राजधानी सोलमा केही घण्टाको ट्रान्जिट पछी सिङ्गापुर अबतरित भयौँ। अर्थतन्त्रको हिसाबले

एसियाका चार साना देशहरु कोरिया, सिङ्गापुर, हङकङ र ताइबानलाई Asian Tigers 'एसियाली बाघहरु'

भनेर चिनिन्छन। नाम अनुसार नै सिङ्गापुरले हरेक दृष्‍टिकोणबाट आफुलाई बाघ नै साबित गरेको

देखियो। बिकास, सुरक्षाको प्रत्याभुती, सुन्दर आधुनिक संरचना, भब्यता, सम्पन्नता र भरष्टाचारसुन्यता हरेक

नजरबाट विश्वकै उत्कृष्ट र उदाहरणीय देशको रुपमा आफुलाई स्थापित गरेको छ सिङ्गापुरले। संयोगबस

हामी त्यहाँ पुग्दा सिङ्गापुरको ५०औँ वार्षिकोत्सब मनाउने भब्य तयारी हुँदै थियो। पाँच दिनको सिङ्गापुर

बसाइ र घुमाइ आँफैमा अबिस्मरणीय रह्यो। सिङ्गापुरको भ्रमणको क्रममा बोटनिकल बगैँचा घुम्न गइयो

जहाँ थरिथरिका सुनगाभा प्रजातिका फूलहरू देखियो। उष्ण प्रदेशीय हावापानीमा पाइने बनस्पती मध्ये त्यहाँ

देखेको लज्जावती झार सबै भन्दा सम्झना लायक रह्यो।

सिङ्गापुर को ५ दिने घुमाइ पछी काठमाडौं पुगियो। काठमाडौंमा राधिकाको भदै र भदै बुहारीको पाहुना

बनेर बौद्ध टुसालमा अबस्थित उनिहरुको घरमा बस्यौँ। काठमाडौं पुगेको भोली पल्ट आमालाई भेट्न

ज्ञानेश्वर गयौँ।

जुलाई २५ तारिखको दिन स्वयम्भु बिजयश्वरी स्थित तामाङ मौलिक रेस्टुराँ कुताप धिम गयौँ। अहिलेका

अत्यन्त लोकप्रिय तामाङ सेलो गायक फुलकुमार बोम्जनले सुरु गरेको यो रेस्टुराँ परम्परागत तामाङ


परिकारको लागि प्रख्यात छ। यहाँँ पुग्दा कुनै मिनी सङ्ग्रहालय पुगेको झैँ लाग्यो। फुलकुमार आलेले डम्फु

बजाउँदै तामाङ सेलो गीत गाएर रमाइलो गर्नु भयो। त्यसबखत उहाँ साङ्गितिक कार्यक्रमको लागि

अष्ट्रेलिया जाने तयारीमा हुन्हुन्थ्यो।

जुलाई २७ तारिखको दिन बौद्धमार्गी हरुको पवित्र धार्मिक स्थल नमोबुद्ध गयौँ। संयोगबस सो यात्रामा

न्युयोर्क बस्नु हुने पुनम रुम्बा र डोमा मोक्तानसँग भेट भयो। नमोबुद्ध पहिलेको जस्तो थिएन। ठुला ठुला

गुम्बा, म्हाने र छ्योर्तेन जस्ता संरचनाहरुको निर्माणले नमोबुद्ध भब्य देखिन्छ। तामाङ जातीको घना आबादी

रहेको सो ठाउँबाट यो भब्य सरंचनाहरुले स्थानीय तामाङहरु भने बिस्थापित भएको देखियो। अवस्था

कतीसम्म टिठ लाग्दो सुनियो भने आफ्नै जग्गा तिब्बतीहरुलाई बेचेर बनेका गुम्बाहरुमा गेटपालेको काम माग्न

निम्न आर्थिक स्थिती भएका रैथाने तामाङहरु जान्थे भन्ने सम्म सुनियो।


त्यसको भोलिपल्ट चन्द्रागिरी डाँडा घुम्न गइयो। तर मौसमको खराबीले गर्दा केही दृश्य देख्न सकिएन। जसले

गर्दा अलिक खल्लो अनुभव भयो। त्यस पछी प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न गयौँ। झन्डै

तीन दशक अघी आँबु खैरेनीबाट घन्टौँ ठाडो उकालो चढेर मनकामना मन्दिर पुगेको थिएँ। यस पाली भने

कुरिन्टारबाट केबुलकारबाट केही मिनेटमा नै मनकामनाको डाँडामा पुगियो। आधुनिक प्रबिधीले ल्याएको

यो सहजता ठुलो आश्चर्यको बिषय त होइन तर ३० बर्ष अघीको घन्टौँको त्यो सकसपूर्ण उकालो चढाइ

सम्झिँदा भने यो एउटा गज्जबको चमत्कार जस्तै अनुभुती भयो। मन्दिर वरपरको संरचना र सुबिधाहरु

अचम्म लाग्दो गरी फेरिएको पाइयो। सुबिधा सम्पन्न होटेल लज र रेस्टुराँहरु प्रसस्त खुलेको देखियो। काले

दाई र गोरे होटेलले आगन्तुकहरुलाई आकर्षित गर्न धाराप्रबाह फलाकेर गरेको अनौठो बिज्ञापनले चाँही

सबै भन्दा धेरै चकित बनायो।

मनकामना मन्दिरको दर्शन पछी फेरी केबुलकार बाट कुरिनटार ओर्लिएर त्यहाँबाट गोर्खाको सदरमुकाम

गोर्खा बजार तिर लाग्यौँ। तनहुँको आँबु खैरेनीबाट पृथ्वी राजमार्ग छोडेर उत्तर तर्फ करिव ४० मिनेटको

ड्राइभमा गोर्खा पुगिँदो रहेछ। पृथ्वी नारायण शाहले झन्डै २५० बर्ष अगाडि गोर्खा राज्यबाट नेपालको

एकिकरण अभियान सुरु गरेको मानिन्छ। गोर्खा भ्रमणको प्रमुख उद्देश्य नै पृथ्वी नारायण शाहको दरबार हेर्नु

थियो। अहिले सङ्ग्रहालयमा परिणत र संरक्षित दरबारको झ्याल ढोकामा कुँदिएका काष्ठकला अनुपम

देखियो। तोप, खुँडा, बन्दुक लगायतका युद्ध सामाग्रीहरु हेर्न लायक बस्तुहरु थिए। गोर्खा बजारको सबै


भन्दा अग्लो स्थानमा रहेको उक्त दरबार तत्कालिन समयमा दुस्मनको आक्रमण बाट बच्ने सबै भन्दा सुरक्षित

स्थान हुनुपर्छ। ऐतिहासिक गोर्खाको त्यस छोटो र स्मरणीय भ्रमण पछी हामी काठमाडौं तर्फ फर्कियौँ।

त्यसको भोली पल्ट काठमाडौंको महिला लायन्स क्लब भिजिट गर्ने कार्यक्रम बन्यो।

त्यस पछी तामाङ रेम्पोछे लोप्साङ् नाम्गेल रेम्पोछेसँग कपनमा अबस्थित उहाँकै निवासमा गएर भेट

गरेँ।लागि कुमार थोकर जिले अपोइन्ट्मेन्ट मिलाई दिनु भएको थियो।

केही बर्ष अघि बौद्धको तिनचुले आगलागीबाट जलेको गुम्बालाई पुनर्निर्माण गरेको आर्थिक सहयोग

गरेको थिएँ। जसको कदर स्वरूप खेन्पो सर्बजित गोरखाले सम्मानपत्र प्रदान गर्नु भयो।

चितवन-बन्दिपुर-पोखरा पर्यटकीय नेक्सस एक फन्को

चितवन राष्ट्रिय निकुन्ज घुम्ने योजना बन्यो। भदा बुहारी कर्मोले भ्रमणको चाँजोपाँजो मिलाउनु भयो। भब्य

सुबिधासम्पन्न होटेल पार्क सफारीमा दुई रात ३ दिनको बसाइमा रैथाने थारु गाउँ र थारु म्युजियम लगायत

हातीसार घुमायो जुन निकै अर्थपूर्ण र सम्झनायोग्य रह्यो। जीप सफारीबाट बाघ, गैँडा लगायत अन्य

बन्यजन्तुहरु देख्ने अपेक्षा राखे पनि केही मृगहरु बाहेक बाघ र गैँडा भने देख्न सकिएन।

माझिदाई पोखरा फेवा तालको.. लगायत अन्य थुप्रै चर्चित गीतहरुका गायक चितवन निवासी अहिलेका

चर्चित लोक गायक मिलन लामा, न्युयोर्कमा लामो समय बसेर फर्किएका नृत्य प्रशिक्षक धरमबिर लामा र

सोम माया लामासँगको भेटघाट र बातचित पनि चितवन यात्राको सम्झनु पर्ने पाटो बन्न पुग्यो।


चितवनको बसाइ बिट मारेर तनहुँँको पुरानो ब्यापारिक केन्द्र तथा टिपिकल पर्यटकीय गाउँ बन्दिपुर तर्फ

लाग्यौँ। बन्दिपुर भिलेज इन मा एक रात बितायौँ। चाइनाको ग्रेट वाल जस्तै देखिने पर्खाल, कलात्मक

ढुङ्गेधारा, मन्दिर र चिटिक्क परेको नेवारी गाउँ पर्यटकको मन लोभ्याउने बन्दिपुरको आकर्षण रहेछ।

बन्दिपुरको एक रातको बसाइ र घुमाइ पछी हाम्रो यात्रा पोखरा तर्फ अघी बढ्यो। पोखरा नेपालकै सबै भन्दा

सुन्दर पर्यटकीय शहर हो। पोखरा बिदेशी होस् स्वदेशी सबै खाले पर्यटकहरुको रोजाइमा पर्दछ जस्तो लाग्छ।

फेवा ताल किनारको गौरीघाटमा अबस्थित ३ तारे होटेल टेम्पल ट्री मा २ रातको बास भयो। बसाइ र यात्राको

सम्पूर्ण ब्यबस्थापन राधिकाको भदैनी बुहारी कर्मोले गर्नु भएको थियो। पोखरामा राधिकाको बहिनी शान्ती

र उनको छोरा सुनिल पनि सामेल भए। फेवा तालमा बोटिङ लगायत पोखराका अन्य पर्यटकीय स्थानहरु


घुमियो। त्यस मध्ये लेक हाउस भिजिट बिशेष रह्यो। पलेटी मारेर बसेर लाइभ न्युजिक, आकर्षक नाचको

साथमा स्वादिष्ट खाना त्यहाँको बिशेष अनुभब रह्यो।


केही समय अघी तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका पूर्व अध्यक्ष लाक्यान लामाको आमाको निधन

भएको थियो। काठमाडौं फर्के पछी उहाँको शोकाकुल परिवारलाई भेट्न उहाँको घरमा गयौँ। बौद्ध नयाँ

बस्तीमा अबस्थित तामाङ गुम्बामा उहाँको आमाको घेवामा सहभागी भएँ।

नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्लाका सांसद बहादुर सिंह लामा र नुवाकोट जिल्लाको किस्पाङ

गाउँपालिकाका अध्यक्ष छत्र लामाको साथमा होटेल हायातमा भएको डिनर पनि सम्झना योग्य रह्यो।

भक्तपुरको र्यालेमा अबस्थित आशापुरी महादेव मन्दिर दर्शन गर्न गयौँ। तामाङहरुको घना बस्ती रहेको सो

ठाउँमा राधिकाको परिवारले पाँच ओटा ढुङ्गेधारा निर्माण गरिदिएको छ। सो ढुङ्गेधाराको अबलोकन

गरियो।

पछील्लो समय नेपालमा साहसिक खेल बन्जी जम्प निकै लोकप्रिय देखिन्छ। मलाई उतिसारो चासो नभए

पनि जीना र भदैले बन्जी जम्प गर्ने निधो गरे। जसको लागि सिन्धुपाल्चोकको प्रशिद्ध भोटेकोशी बन्जी

जम्प गएर जिना र भदैले आफ्नो रहर पुरा गरे।

त्यसको भोली पल्ट काठमाडौंमा गुरु आचार्य ह्योल्मोपोको निम्तोमा बौद्धमा सपरिवार लन्च गर्यौँ।

लोकप्रिय सेलो गायक प्रेम लोप्चन र रोज मोक्तानसँग पनि दिनै पिच्छे जस्तो रमाइलो भेटघाट भयो।

न्युयोर्क स्थित भिजन क्लब इन्टरनेसनल मार्फत आर्यघाटमा बेवारीसे लास ब्यबस्थापन र दाहसँस्कारको

लागि केही आर्थिक सहायता हस्तान्तरण काम भयो।

विश्व किर्तिमानधारी हिमाल आरोही शम्भु तामाङको सम्मानमा तामाङ सोसाइटी अफ अमेरिका र तामाङ

रिमठिम पर्यटन सन्जालले संयुक्त रुपमा प्रकाशन गरेको 'शम्भु तामाङ स्मारिका'को बिमोचन कार्यक्रममा

सहभागी हुने मौका जुर्यो। सो कार्यक्रममा तत्कालिन बागमती प्रदेश उपसभामुख राधिका तामाङ, तामाङ

रिम्ठिम पर्यटन सन्जालका अध्यक्ष अंबर बोम्जन, कोषाध्यक्ष रितु ग्याम्दान लगायत अन्य तामाङ पर्यटन

उद्द्यमी हरुसँग भेटघाट भयो। सो कार्यक्रम लगत्तै स्वर्गिय शम्भु तामाङको ४९औँ पुन्यतिथीमा उहाँको घरमा

आयोजना गरेको घेवामा साहभागि भएँ।


भर्खरै स्थापना भएको तामाङ राष्ट्रिय पुस्तकालयले आयोजना गरेको तामाङ ज्ञान महोत्सबको एउटा

सेसनमा उपस्थित भएर आफ्नो अनुभवहरु साझा गर्ने अबसर पाएँ। कार्यक्रमलाई प्रसिद्ध भाषाविद अमृत

योन्जनले सहजीकरण गर्नु भएको थियो। सो कार्यक्रममा रैथाने तामाङ अगुवा खड्गजित लामाले बौद्ध

वरपरका तत्कालीन समयको तामाङहरूको अबस्थाको बारेमा अनुभवहरू साझा गर्नु भयो। त्यस पछिको

सेसनमा लेखक प्रताप बल र भूतपूर्व राजदूत डा. गणेश योञ्जनले आफ्ना अनुभवहरू सुनाउनु भएको थियो।

सो कार्यक्रममा थुप्रै तामाङ विद्वान, अध्येयता, शोधकर्ता, तामाङ नेता तथा अगुवाहरुसँग पनि भेट गर्न पाएँ।

त्यसै गरी काठमाडौं बसाइकै क्रममा टिका शेर्पाको सकृयता र अनुवादमा निर्माण भएको बुद्धभजनको

अडियो बिमोचनमा उपस्थित हुने मौका जुर्यो।

पूर्व निर्धारित योजना अनुसार सेप्टेम्बर ४ तारिखको फिर्ती टिकट थियो। गर्नु पर्ने केही कामहरु नभ्याएकोले

बसाइलाई लम्ब्याउनु परेको थियो।

यस बिचमा सोलुखुम्बु घुम्न जाने योजना बन्यो। सोलुखुम्बुको सदरमुकाम फाप्लु राधिकाको काका वीर

बहादुर लामाको ससुराली गाउँ हो। यात्रामा काका, काकी र बुहारी सुश्मा पनि साथमा हुनुहुन्थ्यो। फाप्लुको

ज्वालामाइ मन्दिर दर्शन गर्यौँ जहाँ नुन र चिनी नखाइ दर्शन गर्न जानु पर्ने रहेछ। फाप्लुमा अबस्थित गुम्बा

दर्शन जाँदा त्यहाँका मुख्य रेम्पोछेले दर्शन भेट दिनु भएन। सोही घुमघाममा जुनबेँसीको थुप्तेन दोङ्गाक

छोलिङ गुम्बा दर्शन गर्न गयौँ। एउटा ढुङ्गामा जून र घामको प्रतिक भएकोले त्यस ठाउँको नाम जूनबेँसी

रहन गएको भन्ने किम्बदन्ती रहेछ।

फाप्लु को दुई रातको बसाइ पछी काठमाडौं फर्क्यौँ। फर्किने क्रममा साल्मे बजार नजिकै पहिरो गएकोले

लामो जाममा परियो। बाटोको पहिरो क्लियर भएर हिँड्दा निकै ढिलो भएको थियो। ओखलढुङ्गाको एउटा

नेवार होटेलमा खाना खायौँ। काठमाडौं आइपुग्दा निकै रात पर्‍यो। रातको कारण काकालाई गाडी ड्राइभ

गर्न निकै असहज भएको थियो र पनि सकुशल काठमाडौं आइपुग्यौँ।

अस्पताल र अन्य सार्वजनिक क्षेत्रको सेवामा निकै सुधार भएको महसुस भयो। मेरो प्रोस्टेटको समस्याको

चेक अप गर्नु थियो जसको लागि नर्भिक र हेम्स अस्पताल गएको थिएँ। पहिले घन्टौँ लाइन बसेर टिकेट

लिनु पर्ने अवस्था थियो। अहिले डिजिटल नम्बरिङ् सिस्टम लागु भएको रहेछ। जसले गर्दा सेवा चुस्त र

ब्यबस्थित भएको पाएँ।


यस बिच तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष शान्त थोकर पनि नेपाल आइपुगेका रहेछन।

उहाँको आमाको साथ एक दिन खानपिन र भेटघाट भयो।

पत्रकार मानछिरिङ्ग तामाङ कुनै समय न्युयोर्क बसेर पत्रकारिता गर्दथे। त्यस बेला उनी सँग चिन्जान र

घनिष्ठता भएको थियो। केही समय अघी उनको बुवा बित्नु भएको थियो। स्वयम्भु स्थित मुस्ताङ गुम्बामा

उहाँको घेवामा सहभगी भएँ।

तामाङ सोसाइटी अफ अमेरिकाको पूर्व सल्लाहकार तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका

तत्कालीन प्रमुख बंसलाल तामाङले होटेल टिबेट इन्टरनेसनलको रुफटपमा डिनर दिनुभयो। सो डिनरमा

युवा तामाङ पर्यटन ब्यबसायी रितु ग्याम्दान पनि थिइन।

तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ र चर्चित लोकप्रिय गायिका इन्दिरा गोले एक दिन मलाई भेट्न

आउनु भएको थियो। गायिका इन्दिरा क्यान्सरको बिरामी रहेछ। यता फर्किनु अघी एक पटक उनलाई भेट्ने

ठुलो इच्छा थियो। तर ब्यस्तताको कारण उनलाई भेट्न जान सकिएन। यो कुराले साह्रै अपसोच लागि रहेको

छ।

न्युयोर्कमा रहेर बिभिन्न सामाजिक गतिविधिमा सकृय युवा छिरिङ योन्जनको मामा र हजुरबासँग भेट गरियो।

उहाँहरूले लाजिम्पाटको एउटा भव्य रेष्टुरेण्टमा खानपिन गराउनु भयो।

रेडियो सगरमाथाको कार्यक्रम प्रस्तोता बुद्ध योन्जनले उनको कार्यक्रम तामाङ ग्योइकाइको लागि मेरो

अन्तर्वाता लिन आउनु भयो। लामो समयको प्रबास बसाइ र आफ्नो जिन्दगीको अनुभवहरु साझा गर्ने

अबसर पाउनु खुशीको कुरा रह्यो। त्यसै गरी सञ्चारकर्मी प्रितम गोले र सशस्त्र प्रहरीका इन्स्पेक्टर कीसमान

माम्बा सँग पनि भेटघाट गर्ने अबसर मिल्यो।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सबैलाई आश्चर्य चकित पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंको

मेयर चुनिएको थियो। उनको सामु थुप्रै चुनौतीहरू देख्छु। त्यस बेला काठमाडौंको गल्ली र चोकमा फोहोरको

डङ्गुर थुप्रिएको थियो। डम्पिङ साइटको स्थानीयको अवरोध र राजनीतिक पार्टीहरूको असहयोगको कारण

फोहोर उठिरहेको थिएन। मलाई अचम्म र टिठ लागेको कुरा चाहिँ के थियो भने फोहोर उठाउने काम गर्ने

मान्छेहरू हातमा कुनै पन्जा नलगाइकन काम गरिरहेका थिए। फोहोरकै कारण होला काठमाडौंमा डेङ्गुको

महामारी फैलिएको थियो। भाग्यबस डेङ्गुको त्यस्तो प्रकोपमा पनि हामीलाई चाहिँ केही भएन। मलाई के


विश्वास छ भने नयाँ मेयर बालेन साह एउटा जोस र भिजन लिएर आएकाछन। सबैले उनलाई साथ दिए

पक्कै काठमाडौंमा केही फेरबदल ल्याउन सक्छन।

यो नेपाल बसाइको क्रममा थुप्रै आफन्तहरूसँग आत्मीय भेटघाट गर्ने अबसर जुट्यो। उहाँहरूको नाम यहाँ

छुट्न पुगेको छ। केही सञ्चारकर्मीहरू साथीहरूले अन्तरबार्ताको लागि अनुरोध गर्नुभएको थियो। समय

अभावको कारण सम्भव हुन सकेन। यसका लागि क्षमा प्रार्थी छु।

नेपालको करीव दुई महिनाको ब्यस्त बसाईलाई बिट मार्ने दिन आयो। अन्तत: सेप्टेम्बर २१ तारिख को दिन

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तानबुल हुँदै न्युयोर्कको लागि हामी दम्पती उड्यौँ। काठमाडौंबाट

इस्तानबुलको उडानमा एउटा हाँस उठ्दो घटना भयो। बिमान परिचारिकाले खाना र बेभरेज सर्भ गर्दै आउँदा

मलाई के पिउने भनेर सोधिन। मैले एक ग्लास वाइन मागेँ। त्यतिबेला उनीसँग वाइन सकिएको रहेछ।


एकछिन पछि ल्याउँछु है भनेर उनी गइन्। त्यस पछि उनी मेरो छेउ बाट पटक पटक ओहोरदोहोर गरिरहिन्

तर मलाई वाइन ल्याएर दिइनन्। मलाई थाहा भो उनले बिर्सिन्। त्यस पछि भै गो त भनेर मैले पनि वास्ता

गरिन। फेरि अर्को राउन्ड ड्रिङ्क सर्भ गर्न तिनै परिचारिका के पिउने भनेर सोध्न आइन्। यस पटक पनि मैले

रेड वाइन नै अर्डर गरेँ। बल्ल उनले पहिले अर्डर गरेको वाइन ल्याउन बिर्सेको महसुस गरिन्। यसका

लज्जाबोध सहित असाध्यै विनम्र भएर पटक पटक माफी मागिरहिन्। त्यसको क्षतिपूर्ति होला उनले

नखोलेको तीन बोतल वाइन मलाई दिइन्। एक बोतल त मैले पिएँ। बाँकी दुई बोतल वाइन पिइसक्ने कुरै

भएन। इस्तानबुलमा जहाज अबतरण भएपछि त्यसलाई झोलामा राखेर बोकेको थिएँ। न्युयोर्कको लागि

चेक इन भएर सुरक्षा जाँच गर्ने बेला थाहा भयो कि ड्युटीफ्रीमा किनेको बाहेक अरू लिकर बोक्न नपाइनेरहेछ।

त्यस पछि त्यो बोतल वाइन त्यहीँ गार्बेज गरेर जहाजमा बोर्ड भएँ।